महराले उच्च अदालतमा दर्ता गराएको निवेदन आज इजलासमा पेस हुने

निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दर्ता गराएको निवेदन आज शुक्रबार इजलाससमक्ष पेस हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको आदेशविरुद्ध महराका कानून व्यवसायीले बिहीबार उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए।

जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहितको निवेदन दर्ता भएको थियो ।

अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ। गत कार्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धानअघि बढाउन आदेश जारी गरेको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अभियोगको थप अनुसन्धानका लागि उनलाई थुनामा पठाइएको हो ।

(radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार