मलाई ५ वर्ष नै थुन्न खोजियो, प्रहरीबाटै असुरक्षित रहेको रवि लामिछानेको दाबी

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवी लामिछानेले आफूलाई प्रहरीले ५ बर्षनै थुन्ने नियत देखाएको दाबी गरेका छन् । उनले आफू हिरासतबाट निक्लिएको ५ मिनेटभित्रै यो घटनामा आफ्नो कहीँ कतै संग्लनता नरहेको पुष्टि गर्न सक्ने बताएका छन् ।

‘शालिकराम पुडासैनीको घटनाको विषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउँछु भनेको थिएँ र पाँचौ दिनसम्म हिरासतमा रहँदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि’ उनले श्रीमती निकिता पौडेलको फेसबुकमार्फत भनेका छन्, ‘म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहीँ कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरि पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।’

पाँचौ दिन सम्म प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको भएपनि अहिले भने प्रहरीबाटै असुरक्षित भएको महसुश गरेको बताएका छन् । उनले आत्महत्यासम्बन्धी भिडियो कसरी बाहिरियो भन्दै प्रश्न समेत उठाएका छन् । ‘प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्लजीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो कोबाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउनु पर्ने थियो कि थिएन ?

र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?’ उनले प्रश्न गरेका छन् । प्रहरीले आफ्नो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि प्रश्न गर्न गरेका छन् । ‘प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।’

शालिकरामले आत्महत्या गर्नुअघि रविलगायतको नाम लिएपछि प्रहरीले बिहीबार उनीहरुलाई राजधानीबाट पक्राउ गरेर चितवन लगेको थियो । साउन २० मा शालिकरामले आत्महत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार