पूर्वप्रधानमन्त्री शरिफकी छोरी पक्राउ

पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरीलाई पक्राउ गरिएको छ । भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरूले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले जानकारी दिएका छन् । भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमध्ये उनी पनि एक प्रभावशाली व्यक्ति हुन् ।

उनी इमरान खान नेतृत्वको सरकारले मुख्य लक्षित गरेका व्यक्तिमा पर्छिन्र। पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्षसमेत रहेकी मार्यमलाई पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले पक्राउ गरेको हो ।

भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेल जीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मार्यमलाई पक्राउ गरिएको बताइएको छ । उनका बुबा नवाज भने गत सन् २०१८ देखि सातवर्षे सजाय भोग्न अहिले कारावासमै रहेका छन् । नवाजलाई पनि भ्रष्टाचारसम्बन्धी अभियोग नै लगाइएको छ । उनी पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भइसकेका छन्।

त्यसैगरी, मार्यमका काका तथा पञ्जावका पूर्वमुख्यमन्त्री शाहवाज शरिफ पनि अहिले अनुसन्धानको दायरामा रहेका छन् । उनका अन्य नातेदारहरूमाथि पनि अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

(रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार