विराटनगर विरुद्ध चर्च बोइजको डबल ह्याट्रीक

नयाँ कुरो समाचार ।। 

ए डिभिजन क्लब चर्च बोइजले विराटनगर सिटि फुटबल क्लब विरुद्ध डबल ह्याट्रिक गर्दै ७–१ को जित निकालेको छ ।

पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको ११ औ संस्करण अन्र्तगत बुधबार सम्पन्न खेलमा सहिद स्मारक ए डिभिजन विजेता चर्च बोइजले उत्कृष्ट प्रदर्शन गरेको हो । ३ जना विदेशी खेलाडी सहित मैदान प्रवेस गरेको चर्च बोइजका समिर तामाङ र विदेशी खेलाडी अरमाण्ड बेडमले ह्याट्रिक गरेका थिए ।

अर्का विदेशी खेलाडी फोफोना अयोमीले १ गोल थप्दा चर्च बोइजको स्कोर ७ पुग्यो । खेलमा विराटनगर सिटीका तर्फबाट ८७ औ मिनेटमा सन्दीप राइले सान्तवना गोल फर्काएका थिए । यो संगै चर्च बोइजले सेमिफाइनलमा आयोजक फिदिम स्र्पोटिङ संगको भेट पक्का गरेको छ ।

आजको खेलको उत्कृष्ट खेलाडी बन्दै चर्च बोइजका समिर तामाङले नगद १० हजार रुपैया हात पारे ।

प्रतियोगिता अन्र्तगत विहिबार न्युरोड टिम (एन आरटी) काठमाण्डौ र सलहेस फुटबल क्लव सिराहा विचमा प्रतिष्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।

२०४४ सालमा तत्कालिन राजा विरेन्द्रको जन्मोत्सव कपको रुपमा सुरु भएको यो प्रतियोगिता २०६६ सालबाट नेपालका १६ औ राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको नामबाट सञ्चालन हुदै आएको छ । पूर्वी नेपालको लोकप्रिय गोल्डकपको रुपमा परिचित प्रतियोगिता २०७६ साल पश्चात कोभिड संक्रमणका कारण सञ्चालन हुन सकेको थिएन ।

प्रतियोगिताको यो संस्करणमा नेपालका ए डिभिजनका ४ सहित जम्मा १० टिम सहभागी रहेका छन् ।

गोल्डकपको यो संस्करणको विजेताले नगद १० लाख ५ सय ५५ रुपैया सहित ट्रफि र उपविजेताले ५ लाख ५ सय ५५ सहति ट्रफि हात पार्ने छन् । प्रतियोगिताको फाइनल खेल आगामी पौष १५ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार